काठमाडौँ, चैत २ – जेनजी मुभमेन्ट अलायन्सले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन गरेको छ।
सोमबार माइतीघर मण्डलामा भेला भएका अलायन्सका सदस्यहरूले सरकारलाई दबाब दिन मौन प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा सहभागीहरूले आँखामा कालोपट्टी बाँधेर प्रतीकात्मक विरोध जनाएका थिए।
आन्दोलनकारीहरूले लामो समयदेखि गोप्य राखिएको कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राखेका छन्। साथै, सरकारले हालै गरेका केही राजनीतिक नियुक्तिहरू पनि खारेज गर्नुपर्ने उनीहरूको माग छ।
विशेषगरी प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा गरिएको नियुक्तिप्रति अलायन्सले आपत्ति जनाएको छ। उक्त नियुक्ति पारदर्शी नभएको र राजनीतिक प्रभावमा गरिएको आरोप उनीहरूले लगाएका छन्।
अलायन्सले सार्वजनिक गरेको विज्ञप्तिमा सरकार पुरानै शैलीमा आफ्ना नजिकका व्यक्तिहरूलाई महत्वपूर्ण पदमा नियुक्त गर्दै गएको भन्दै आलोचना गरिएको छ। यसले राज्यका संस्थाहरूलाई राजनीतिक प्रभावमा राख्ने प्रवृत्ति बढाएको उनीहरूको दाबी छ।
जेनजी मुभमेन्टले आफ्ना मागहरू सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तर अघि बढाउने जनाएको छ।
