गंगबुमा कुकुरमाथि कुटपिटपछि जिउँदै पुरिएको आरोपमा तीन जना पक्राउ


गंगबुमा कुकुरमाथि कुटपिटपछि जिउँदै पुरिएको आरोपमा तीन जना पक्राउ
  • नवकिरण
  • चैत्र २, २०८२

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। कुकुरलाई कुटपिट गरी जिउँदै पुरिएको आरोप उनीहरूमाथि लागेको हो।

गत शनिबार काठमाडौं महानगरपालिका–२६ बसपार्क नजिक बस्दै आएका केही व्यक्तिहरूले कुकुरलाई समातेर घरभित्र लगेका थिए। त्यसपछि कुकुरलाई बाँधेर निर्घात कुटपिट गरिएको बताइएको छ।

कुटपिटबाट गम्भीर घाइते बनेको कुकुरलाई खाल्डो खनेर जिउँदै पुरिएको आरोप छ। घटनासँग सम्बन्धित भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यो विषय बाहिर आएको हो।

भिडियो बाहिरिएपछि पशु उद्धारकर्मीहरू घटनास्थल पुगेका थिए। उनीहरूले घरको कम्पाउन्डभित्र कुकुर पुरिएको अवस्थामा फेला परेको जानकारी दिएका छन्।

उजुरीपछि नयाँबजार प्रहरी चौकीले ललिता राना, राधिका श्रेष्ठ र रुपा ढुंगेललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। घटनामा संलग्न भनिएका घरधनी जगन्नाथ श्रेष्ठ भने सम्पर्कमा नरहेको बताइएको छ।

मुलुकी अपराध संहिता २०७४ अनुसार पशुपक्षीमाथि क्रूर व्यवहार गर्ने व्यक्तिलाई कैद वा जरिवानाको व्यवस्था छ। पशु मारेको प्रमाणित भएमा तीन वर्षसम्म कैद सजाय हुन सक्ने कानुनमा उल्लेख छ।