काठमाडौं, चैत २ – देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक सवारीसाधनको भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ।
महासंघका महासचिव डेकनाथ गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि नेपाल आयल निगमले गएराति डिजेलमा १० र पेट्रोलमा १५ रुपैयाँ मूल्य वृद्धि गरेसँगै यातायात व्यवसायी र यात्रु वर्गमा प्रत्यक्ष असर परेको छ। उनले यो मूल्यवृद्धि आम यातायात व्यवसायी र उपभोक्ताको हितलाई मध्यनजर नगरी गरिएको बताएका छन्।
महासंघले पेट्रोलियम पदार्थको सहज आपूर्ति सुनिश्चित गर्न आन्तरिक चुहावट रोक्ने, खपत नियन्त्रण गर्ने र वैज्ञानिक आधारमा मूल्य व्यवस्थापन गर्ने व्यवस्था सरकारसँग माग गरेको छ।
सार्वजनिक यातायात साधनहरू प्रायः डिजेल वा पेट्रोलमा सञ्चालन हुने भएकाले इन्धन मूल्यमा भएको बढबढले भाडामा प्रत्यक्ष असर पर्न गएको महासंघले जनाएको छ।
यसै सन्दर्भमा महासंघले संघीय रुटको भाडा यातायात व्यवस्था विभाग र प्रदेशस्तरीय भाडा सातै प्रदेश मन्त्रालयबाट यथाशीघ्र समायोजन गर्न सरकारसँग आग्रह गरेको छ।
