धादिङका स्थानीय तहहरूले आशिका तामाङको निर्देशनको विरोध गरे


धादिङका स्थानीय तहहरूले आशिका तामाङको निर्देशनको विरोध गरे
  • नवकिरण
  • चैत्र ५, २०८२

धादिङ, चैत ५ – धादिङका १३ वटा स्थानीय तहका प्रमुख, अध्यक्ष र उपाध्यक्षहरूले प्रतिनिधिसभा सदस्य आशिका तामाङको पछिल्लो निर्देशनविरुद्ध कडा विरोध जनाएका छन्।

बिहीबार नीलकण्ठ नगरपालिकामा प्रमुख भीमप्रसाद ढुंगानाको अध्यक्षतामा बसेको बैठकले संघीयताको मर्मअनुसार तीनै तहबीच सम्मान, विश्वास र सहकार्य कायम राख्न आवश्यक रहेको बताए।

धादिङ–१ बाट निर्वाचित आशिका तामाङले स्थानीय तहहरूलाई अवैध बालुवा उत्खनन रोक्न र अवैध कर संकलन बन्द गर्न निर्देशन दिएकी थिइन्। उनले सामाजिक सञ्जालमार्फत पनि यसबारे जानकारी दिएकी छन्। विशेषगरी बेनीघाट रोराङ गाउँपालिका–९ मा त्रिशूली नदीबाट अवैध बालुवा र गिट्टी निकाल्ने काम रोक्न उनले पालिकाहरूलाई पत्रमार्फत चेतावनी दिएकी थिइन्।

स्थानीय तहका प्रतिनिधिहरूले आशिकाको निर्देशनलाई संविधानमा तय गरिएको स्थानीय सरकारको अधिकारमा हस्तक्षेपको रुपमा लिँदै विरोध जनाएका छन्। उनीहरूले प्रशासनमार्फत अधिकार क्षेत्रमा सांकेतिक हस्तक्षेप सुरु भएको भन्दै कडा प्रतिक्रिया जनाउने निर्णय गरेका छन्।

बैठकमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “स्थानीय सरकारको संवैधानिक अधिकारलाई कुण्ठित गर्ने प्रयासको विरोध गर्न आजको बैठकले निर्णय गरेको छ। यस प्रकारको हस्तक्षेप स्थानीय तहको स्वतन्त्र कार्यक्षमता सीमित गर्ने प्रयास हो।”