राजेश हमालको फिल्म नाममा भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा


राजेश हमालको फिल्म नाममा भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा
  • नवकिरण
  • चैत्र ५, २०८२

काठमाडौं, चैत ५ – अभिनेता राजेश हमालको निर्देशमा फिल्म बनाउन लागेको बहानामा भ्रष्टाचार भएको आरोपमा अछाम ढकारी गाउँपालिकाका अध्यक्षसहित चार जना प्रतिवादीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोग (एसीएए) ले मुद्दा दर्ता गरेको छ।

अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको जानकारी आयोगका प्रवक्ता सुरेश न्यौपानेले दिएका छन्। मुद्दामा नाम उल्लेखित व्यक्तिहरूमा गाउँपालिका अध्यक्ष प्रकाशबहादुर साउद, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद, र आर. जे २४ न्यूज / नव इन्द्रेणी फाउन्डेसन काठमाडौंका अध्यक्ष रामजी लम्साल (रामबहादुर लम्साल) रहेका छन्।

अख्तियारको आरोप अनुसार, पालिका अध्यक्ष र फाउन्डेसन अध्यक्ष रामजी लम्सालबीच मिलेमतो गरी अन्धपथ चलचित्र निर्माणका लागि १५ लाख रुपैयाँ सरकारी बजेट दुरूपयोग गरिएको छ। उनीहरूबीच २०८१ भदौ १८ गते सम्झौता भएको भए पनि कुनै कार्यान्वयन भएको थिएन।

मुद्दामा प्रतिव्यक्ति १२ लाख ७७ हजार २५० रुपैयाँ बिगो माग गरिएको छ। अख्तियारले भ्रष्टाचारका सबै तथ्यहरूसहित यो मुद्दा अघि बढाएको छ।