काठमाडौं, चैत ६ – माइतीघर मण्डलामा भइरहेको प्रदर्शनका क्रममा संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारप्रति नेपाल जेनजी फ्रन्टले कडा प्रतिक्रिया जनाएको छ। फ्रन्टले शुक्रबार विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेको हो।
फ्रन्टका अनुसार शान्तिपूर्वक आन्दोलन गर्ने क्रममा यस प्रकारको व्यवहार अस्वीकार्य छ। यसले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अभ्यासमाथि चोट पुर्याएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा आन्दोलनकारीहरूबीचको असमझदारी र द्वन्द्वले समग्र आन्दोलन कमजोर बन्ने खतरा औंल्याइएको छ। सहिद परिवार र घाइतेका आफन्तका भावनालाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ।
फ्रन्टले आन्दोलनका मागहरू राज्यसँग सम्बोधन गरिनुपर्ने स्पष्ट पार्दै सत्य सार्वजनिक गर्न ढिलाइ भएकोप्रति असन्तुष्टि जनाएको छ। यसले जनतामा थप अन्योल र असन्तोष बढाएको उल्लेख गरिएको छ।
जेनजी फ्रन्टले यस्ता घटनाले आफ्नो अभियानमा कुनै असर नपर्ने बताउँदै सही मुद्दाका लागि निरन्तर संघर्ष जारी राख्ने प्रतिबद्धता दोहोर्याएको छ।
