काठमाडौं, चैत ९ – राष्ट्रिय सभा सदस्यमा ओमप्रकाश अर्यालको नाम सिफारिस भए पनि रामचन्द्र पौडेलले नियुक्ति प्रक्रिया अघि बढाएका छैनन्। मन्त्रिपरिषद्को सिफारिस राष्ट्रपति कार्यालय पुगेको भए पनि तत्काल निर्णय नगर्ने निष्कर्षमा राष्ट्रपति पुगेका हुन्।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार, अर्याल हाल गृहमन्त्रीजस्तो लाभको पदमा बहाल रहेकाले संवैधानिक रूपमा उनको योग्यता माथि प्रश्न उठ्ने देखिएको छ। संविधानले संघीय सांसद हुनका लागि लाभको पदमा नरहेको हुनुपर्ने स्पष्ट व्यवस्था गरेको छ।
यस्तै, मुलुकमा नयाँ सरकार गठनको चरण चलिरहेको सन्दर्भमा पुरानो सरकारको सिफारिस कार्यान्वयन गर्न राष्ट्रपतिले उपयुक्त नठानेको बुझिएको छ। नयाँ जनादेशअनुसार बन्ने सरकारको राय लिनु आवश्यक ठानिएको हो।
यसैबीच, अर्यालको नियुक्ति सिफारिसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेकाले कानुनी जटिलता पनि देखिएको छ। अदालतमा विचाराधीन विषयमा निर्णय नगर्नु उचित हुने ठहरसहित राष्ट्रपतिले प्रक्रिया रोकेका हुन्।
अब नयाँ सरकार गठनपछि मात्र राष्ट्रिय सभाको रिक्त पदमा नियुक्ति सम्बन्धी निर्णय हुने सम्भावना रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।
