काठमाडौं, चैत १० – नेपाली कांग्रेसले आगामी भदौ अन्तिम साता १५औं महाधिवेशन आयोजना गर्न तयारी थालेको छ। पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा २४, २५ र २६ भदौमा काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गर्ने निर्णय गरिएको छ।
महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिक अभियान पनि सुरु हुने भएको छ। पार्टीले २१ चैतदेखि चैत मसान्तसम्म विशेष अभियान मार्फत सदस्यता अद्यावधिक गर्ने योजना बनाएको छ। यसैबीच, १ वैशाखदेखि वैशाख मसान्तसम्म देशभरका सबै ६ हजार ७४३ वडामा सदस्यता वितरण र अद्यावधिक गरिने छ।
सदस्यता विवरण जेठ मसान्तभित्र केन्द्रीय कार्यालयमा पठाइसक्ने र १५ असारभित्र आवश्यक छानबिन गरी टुंगो लगाउने तयारी कांग्रेसले गरेको छ।
यसअघि, पुस २७–३० सम्म काठमाडौंमा भएको दोस्रो विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको थियो। निर्वाचन आयोगले विवाद र विधान अध्ययनपछि थापा नेतृत्वको कार्यसमितिलाई औपचारिक मान्यता दिएको थियो।
