जनताको मुद्दा सडकबाट उठाइनेछ : कुलमान घिसिङ


जनताको मुद्दा सडकबाट उठाइनेछ : कुलमान घिसिङ
  • नवकिरण
  • चैत्र ११, २०८२

काठमाडौँ, चैत ११ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले चुनाव हार पछि पनि पार्टी सडकबाटै जनताको सेवा गर्ने घोषणा गरेका छन्। उनले आफ्नो पार्टीलाई ‘सडकको सरकार’ बनाउने स्पष्ट लक्ष्य राखे।

घिसिङले बागमती प्रदेशस्तरीय भेला कार्यक्रममा जनताले आफ्नो पार्टीलाई सडकबाट खबरदारी गर्ने म्यान्डेट दिएको स्मरण गराए। उनले देशको राष्ट्रियता, समृद्धि र जनताको समस्या समाधानमा सक्रिय भूमिका निभाउने प्रतिवद्धता व्यक्त गरे।

अध्यक्ष घिसिङले सरकारका राम्रा कामको समर्थन गर्ने र गलत कामको आलोचना गर्न पार्टी सधैं तत्पर रहने बताए। चुनावपछिको समीक्षा बैठकले आगामी दिनका लागि नयाँ कार्यदिशा तय गरेको उनले बताए।

पार्टीले सातै प्रदेशमा भेला आयोजना गर्ने कार्यक्रम तय गरेको छ। बागमती प्रदेशपछि चैत १४ गते मधेस प्रदेशमा भेला हुने र त्यसपछि जिल्लास्तर र वडा तहसम्म सङ्गठन विस्तार हुने योजना रहेको छ।

घिसिङले डिजिटल प्रचार सुधारेर हरेक नागरिकसम्म पार्टीको एजेन्डा पुर्‍याउने योजना सुनाए। आगामी स्थानीय तह र प्रदेशको चुनावमा पार्टीले उल्लेख्य उपस्थिति जनाउने र देशकै सशक्त राजनीतिक शक्ति बन्ने उनको दाबी छ।