काठमाडौं, चैत १४ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमाले ले देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ। पार्टीले यस घटनालाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्दै आन्दोलनमा उत्रिने निर्णय गरेको जनाएको छ।
एमालेका सचिव महेश बस्नेत ले सामाजिक सञ्जालमार्फत् समर्थकहरूलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन्। उनले लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न र अन्यायपूर्ण कदमको विरोध गर्न सडकमा आउन आग्रह गरेका छन्। आन्दोलनका कार्यक्रमबारे थप विवरण केही समयमै सार्वजनिक गरिने जनाइएको छ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा केपी शर्मा ओली सँगै पूर्व गृहमन्त्री रमेश लेखक लाई प्रहरीले शनिबार बिहान नियन्त्रणमा लिएको हो। एमालेले यस घटनाले राजनीतिक वातावरणमा तनाव थप बढाउने चेतावनी दिएको छ।
यसैबीच, बस्नेतले प्रहरीको भूमिकाप्रति पनि प्रश्न उठाएका छन्। आन्दोलनका बेला निष्क्रिय देखिएको प्रहरीले अहिले नेताहरूलाई पक्राउ गर्न व्यापक रूपमा परिचालन गरिएको भन्दै उनले असन्तुष्टि जनाएका छन्।
