काठमाडौं, चैत १५ – शनिबार नेकपा (एमाले) को प्रदर्शनका क्रममा पक्राउ परेकामध्ये ६ जनालाई प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका व्यक्तिहरूमध्ये अधिकांशलाई छानबिनपछि छाडिएको हो।
उक्त प्रदर्शनका क्रममा कुल ७ जनालाई नियन्त्रणमा लिइएको थियो। तीमध्ये विमल धमला नामका एक जनालाई भने अनुसन्धानका लागि अझै हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार धमला प्रदर्शनका क्रममा सवारीसाधन तोडफोडमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। साथै, उनीविरुद्ध यसअघि नै बैंकिङ कसुरसम्बन्धी दुई वटा मुद्दा रहेको पनि प्रहरीले जनाएको छ।
हाल धमलामाथि थप अनुसन्धान अघि बढाउन म्याद थप गर्ने प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
