काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको विषयमा दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा भएको बहस सकिएको छ।
ओलीविरुद्धको रिट न्यायाधीश मेघराज पोखरेलको इजलासमा र लेखकविरुद्धको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ भएको हो। दुवै पक्षका कानुन व्यवसायीहरूले आफ्नो तर्क प्रस्तुत गरिसकेपछि बहस सोमबार टुंगिएको हो।
उनीहरूलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै छुटकाराको मागसहित रिट निवेदन दायर गरिएको थियो। ओलीका पक्षबाट राधिका शाक्य र लेखकका पक्षबाट यशोदा लेखकले निवेदन दिएका हुन्।
भदौ महिनामा भएको घटनासम्बन्धी छानबिन प्रतिवेदनका आधारमा चैत १४ गते भक्तपुरस्थित निवासबाट दुवै जनालाई नियन्त्रणमा लिइएको थियो। त्यसपछि जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।
अब सर्वोच्च अदालतको आदेशले उनीहरूको भविष्यको कानुनी प्रक्रिया तय गर्नेछ।
