काठमाडौं, चैत १६ – सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्नुको औचित्य सरकारको तर्फबाट पेस गर्न आदेश जारी गरेको छ।
ओलीकी पत्नी राधिका शाक्यले आफ्ना पति गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको समयमा तत्कालीन प्रधानमन्त्रीको हैसियतले ओलीले गरेका कामकारबाहीमाथि प्रश्न उठेको थियो। यस घटनाको छानबिनका लागि सरकारले गठन गरेको आयोगले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई अनुसन्धान गर्न सिफारिस गरेको थियो।
सिफारिसको आधारमा शनिबार बिहान ओली र लेखक दुवै पक्राउ परेका थिए। न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गर्दै सरकारलाई यो जवाफ दिनुपर्ने निर्देशन दिएको छ।
