काठमाडौं, चैत २० – चलचित्र ‘पाँच पाण्डव’ बाट कलाकार सागर लम्साल (बले) लाई बलात्कारको आरोप लागेपछि हटाइएको छ। कालीरानी फिल्मस प्रालिले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस निर्णयको पुष्टि गरेको हो।
विज्ञप्तिमा उल्लेख छ कि लम्सालमाथि एक युवतीले अमेरिकाबाट सामाजिक सञ्जालमा ‘एक वर्षअघि बलात्कार गरेको’ आरोप लगाएकी छिन्। घटना बाहिरिएपछि आपतकालीन बैठक बसेर निर्माण टिमले नैतिकताको आधारमा उनलाई चलचित्रबाट निष्कासन गर्ने निर्णय गरेको हो।
कालीरानी फिल्मसका नबिन श्रेष्ठले जानकारी दिँदै भने, “चैत २ गतेदेखि झापामा छायांकन भइरहेकै चलचित्रमा लम्सालले भाग लिएका ९० प्रतिशत दृश्यहरू खिचिसकिएको भए पनि अब उनी चलचित्रसँग सम्बन्धित हुने छैनन्। उनका दृश्य चलचित्रमा समावेश गरिने छैन।”
निर्माण पक्षले थप स्पष्ट पारेको छ कि चलचित्र ‘पाँच पाण्डव’ का सबै हिस्सेदार, चलचित्र क्षेत्रका प्रबुद्ध वर्ग र आम दर्शकसमक्ष घटनाको सत्यतथ्य प्रष्ट पार्न प्रतिबद्ध रहेको छ।
