काठमाडौँ, चैत २३ – राष्ट्रिय सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायाले सेयर बजारको अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले सरकारका पछिल्ला गतिविधिका कारण बजारमा त्रासको वातावरण सिर्जना भएको दाबी गरे।
सोमबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै उनले सेयर बजारमा निरन्तर गिरावट देखिँदा लगानीकर्ताहरूमा निराशा बढ्दै गएको बताए। उनका अनुसार यो अवस्थाले पुँजी बजारप्रति नकारात्मक सन्देश फैलिएको छ।
रोकायाले नयाँ सरकार गठनपछि उद्योगी व्यवसायीमा केही आशा देखिए पनि हाल सरकारले चालेका कदमहरूले उनीहरूलाई पुनः सशङ्कित बनाएको उल्लेख गरे। यसले बजारमा स्थायित्व आउन नसकेको उनको भनाइ छ।
उनले पछिल्लो समय लगानीकर्ताहरूले करिब ३ खर्ब रुपैयाँ बराबरको क्षति व्यहोरेको दाबी गर्दै यस्तो अवस्था दीर्घकालीन रूपमा अर्थतन्त्रका लागि हानिकारक हुन सक्ने चेतावनी दिए।
सांसद रोकायाले पुँजी बजारमा देखिएको अन्योल र त्रास अन्त्य गर्न सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गर्दै लगानीकर्तामा विश्वास जगाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।
