काठमाडौँ, चैत २६ – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले नियन्त्रणमुक्त गरेको छ। १३ दिनदेखि प्रहरी निगरानीमा रहेका उनलाई उपचार भइरहेको त्रिवि शिक्षण अस्पतालमै परिवारको जिम्मा लगाइएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार ओलीको स्वास्थ्य अवस्था अझै निगरानीमै रहेकाले अस्पतालबाटै परिवारलाई जिम्मा दिइएको हो। चिकित्सकको सल्लाहअनुसार उनको उपचार निरन्तर जारी रहने बताइएको छ।
ओलीलाई जेनजी आन्दोलनसँग जोडिएको घटनामा दमन गरेको आरोपमा चैत १४ गते पक्राउ गरिएको थियो। पक्राउपछि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो र त्यहीँबाट उपचार चलिरहेको थियो।
ओलीको पक्राउविरुद्ध उनकी पत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेकी थिइन्। सो मुद्दामा सुनुवाइ गर्दै अदालतले चैत २६ गतेभित्र अनुसन्धान सक्न निर्देशन दिएको थियो।
अदालतको आदेशअनुसार तोकिएको समयभित्र अनुसन्धान पूरा नभएपछि शर्तसहित रिहा गर्नुपर्ने भएपछि प्रहरीले उनलाई मुक्त गरेको हो। रिहापछि परिवारका सदस्य अस्पतालमै पुगेका थिए।
यसैबीच, सोही प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि रिहा गर्ने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ। हाल उनी प्रहरीको नियन्त्रणमा महाराजगञ्जस्थित गणमा रहेका छन्।
