ललितपुर, चैत २६ – ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई दाजुभाइको उपचारको क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा झापाको कमल गाउँपालिका–६ घर भई हाल ललितपुरको इमाडोलमा बस्दै आएका ३३ वर्षीय सुमित नेम्बाङ र २५ वर्षीय सृजन नेम्बाङ रहेका छन्। उनीहरू चैत २५ गते साँझ विवादका क्रममा छुरा प्रहारमा परेका थिए।
उनीहरूलाई तत्कालै बिएण्डबी अस्पतालमा भर्ना गरिएको थियो, तर गहिरो चोटका कारण उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार, घटना दुई पक्षबीचको विवादका कारण भएको देखिन्छ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–९ भोलटोलका ३२ वर्षीय सञ्जीव नेपाली र नवलपरासी गैँडाकोट घर भई ललितपुरको सुबहाल बस्ने २१ वर्षीय गगन सुनार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय ललितपुरले घटनाको थप अनुसन्धान जारी राखेको छ।
