काठमाडौं, वैशाख १ – नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि मंगलबारदेखि देशव्यापी ‘एक महिने जरामा जाऊँ अभियान’ सुरु गरेको छ । अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाइएको छ ।
महामन्त्री प्रदीप पौडेलका अनुसार प्रतिनिधिहरूले स्थानीय तहमा पुगेर सदस्यता विस्तार र संगठन निर्माणको काम गर्ने छन् । उनीहरूलाई तोकिएको कार्यक्षेत्रमै बसेर प्रत्यक्ष रूपमा काम गर्न निर्देशन दिइएको छ ।
अभियानमार्फत कांग्रेसले क्रियाशील सदस्यता वडामै अद्यावधिक गर्ने, नयाँ सदस्यता वितरण गर्ने र ‘कांग्रेस आईडी’ अनिवार्य गर्ने योजना अघि सारेको छ । साथै सदस्यता अद्यावधिक गर्दा फारम भर्ने र फोटो खिच्ने व्यवस्था लागू गरिनेछ ।
नयाँ सदस्यता वितरणलाई डिजिटल प्रणालीमार्फत सरल बनाउने र सदस्यता अद्यावधिकका क्रममा ‘ओटीपी’ नम्बर अनिवार्य गर्ने व्यवस्था पनि कांग्रेसले गरेको छ ।
अभियानको सुरुवात सभापति गगनकुमार थापाले काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा पुगेर गर्ने कार्यक्रम रहेको छ । उनले आफ्नो सदस्यता रहेको वडामै अद्यावधिक प्रक्रिया सुरु गर्ने छन् ।
कांग्रेसले अभियान अवधिमा संगठनको समीक्षा, नागरिकसँग संवाद र सामाजिक अभियानहरू सञ्चालन गर्ने जनाएको छ । साथै प्रतिनिधिहरूलाई पार्टी संरचना र गतिविधिबारे प्रतिवेदन तयार पार्ने जिम्मेवारी पनि दिइएको छ ।
