काठमाडौं, वैशाख २ – नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ। बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै अदालतले उनलाई हालकै अवस्थामा राख्न निर्देशन दिएको हो।
खड्काकी श्रीमती विनिता थापाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले उक्त आदेश जारी गरेको हो। आदेशमा निवेदकलाई यथास्थितिमा राख्न र नियमानुसार प्रक्रिया अघि बढाउन भनिएको छ।
सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, शम्भु थापा, उपेन्द्रकेशरी न्यौपाने र सतिष्कृष्ण खरेलले बहस गरेका थिए भने अधिवक्ता प्रकाश रेग्मीले पनि पक्ष राखेका थिए। सरकारका तर्फबाट नायवमहान्यायाधिवक्ता सञ्जिवराज रेग्मी र उपन्यायाधिवक्ता दशरथ पंगेनीले बहस गरेका थिए।
सर्वोच्च अदालतले उक्त मुद्दाको अर्को सुनुवाइ वैशाख ३ गतेका लागि तोकेको छ।
प्रहरीले खड्कालाई चैत १५ गते नियन्त्रणमा लिएको थियो। पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका खड्कामाथि जेनजी आन्दोलनका क्रममा उनको घरमा भेटिएको जलेको रकमको विषयमा अनुसन्धान भइरहेको छ।
उनको घरमा आगजनीपछि नेपाली तथा विदेशी मुद्रा जलेको अवस्थामा भेटिएको थियो। सो घटनासँग सम्बन्धित भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जलेका नोटका टुक्रा र खरानी संकलन गरी अनुसन्धान अघि बढाइरहेको छ।
