झापा, वैशाख ५ – गत चैत्रमा आएको हावाहुरी, वर्षा र असिनापानीका कारण झापामा करिब डेढ अर्ब रुपैयाँ बराबरको मकैबाली नष्ट भएको छ। यसले किसानहरूलाई ठूलो आर्थिक मार परेको छ।
बाली बीमाको समस्या कारण किसानले क्षतिपूर्ति पाउन सकेका छैनन्। धेरै किसानले उत्पादन बढाउने आशामा भारतीय बीउ प्रयोग गर्ने भएकाले बीमा सुविधा नपाएको बताइएको छ।
झापा गाउँपालिका चौबाटोका एक किसानले आफ्नै र लिजमा लिएको जमिनमा मकै खेती गरेका थिए। तर, हावाहुरी र असिनाले अधिकांश बालीमा क्षति पुर्याएपछि उनी लगानीसमेत उठाउन नसक्ने अवस्थामा पुगेका छन्।
मकै जोन घोषणा गरिएको झापा गाउँपालिकामा करिब ३४ सय हेक्टरमा मकै खेती हुने गरेको छ। यही क्षेत्रमा सबैभन्दा बढी क्षति पुगेको किसानहरूले बताएका छन्।
जिल्लाका १५ मध्ये ११ पालिकामा करिब १० हजार २ सय हेक्टर क्षेत्रफलमा लगाइएको मकैबाली नष्ट भएको छ। झापा गाउँपालिकामै मात्रै करिब ४५ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
झापामा कुल ४६ हजार हेक्टरमा मकै खेती हुने गरेको छ। गत वर्ष १२ अर्ब रुपैयाँको कारोबार भएकोमा यस वर्ष उत्पादन करिब एकतिहाइले घट्ने अनुमान गरिएको छ।
