भन्सार छुट सीमामा कडाइप्रति जसपा नेपालको असहमति


भन्सार छुट सीमामा कडाइप्रति जसपा नेपालको असहमति
  • नवकिरण
  • बैशाख ५, २०८३

काठमाडौँ, वैशाख ५ – जनता समाजवादी पार्टी नेपालले तराई–मधेससँग जोडिएका सीमामा सय रुपैयाँसम्मको सामानमा मात्रै भन्सार छुट दिने सरकारी निर्णयप्रति आपत्ति जनाएको छ।

शनिबार पार्टीका संरक्षक महन्थ ठाकुरले विज्ञप्ति जारी गर्दै उक्त प्रावधानलाई अव्यावहारिक र अदूरदर्शी कदमको संज्ञा दिएका छन्। उनले यसले सीमावर्ती क्षेत्रका सर्वसाधारणको दैनिक किनमेल र आवतजावतमा अनावश्यक समस्या सिर्जना गर्ने उल्लेख गरेका छन्।

विज्ञप्तिमा मधेस र भारतबीच सडक मार्गबाट हुने आवागमनलाई मात्र लक्षित गरी यस्तो व्यवस्था ल्याइनु उपयुक्त नभएको भन्दै सरकारसँग पुनर्विचार गर्न आग्रह गरिएको छ।

पार्टीले नेपाल–भारतबीचको पारस्परिक सम्बन्धलाई ध्यानमा राख्दै नागरिकको जीवनयापनसँग प्रत्यक्ष जोडिएका वस्तुहरूमा कडाइ नगर्न सुझाव दिएको छ।

जसपा नेपालले उक्त प्रावधान शीघ्र खारेज गरी सहज र व्यवहारिक नीति ल्याउन सरकारसँग माग गरेको छ।