विद्यार्थीलाई राहत : अब नतिजापछि १५ दिनमै ट्रान्सक्रिप्ट


विद्यार्थीलाई राहत : अब नतिजापछि १५ दिनमै ट्रान्सक्रिप्ट
  • नवकिरण
  • बैशाख ६, २०८३

काठमाडौं, वैशाख ६ – अब विश्वविद्यालयहरूले परीक्षाको नतिजा सार्वजनिक गरेको १५ दिनभित्रै विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने निर्णय गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको उपस्थितिमा गत चैत २० गते सबै विश्वविद्यालयका उपकुलपतिहरूले उक्त निर्णयमा सहमति जनाएका हुन् ।

निर्णयअनुसार विश्वविद्यालयका परीक्षा नियन्त्रण कार्यालयहरूले नतिजा प्रकाशनलाई व्यवस्थित र पूर्वानुमानयोग्य बनाउन छुट्टै नतिजा पोर्टल निर्माण गर्नेछन् । यसले नतिजा सार्वजनिक प्रक्रियालाई थप सहज र पारदर्शी बनाउने अपेक्षा गरिएको छ ।

त्यस्तै, उच्चशिक्षाको राष्ट्रिय शैक्षिक क्यालेन्डरलाई प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगका सचिवको संयोजकत्वमा समिति गठन गरिएको छ । उक्त समितिले १५ दिनभित्र परिमार्जित क्यालेन्डर पेश गर्ने जिम्मेवारी पाएको छ ।

विद्यार्थी तथा सेवाग्राहीका गुनासो, सुझाव र सेवा अनुरोधलाई छिटो सम्बोधन गर्न बहु–च्यानल गुनासो व्यवस्थापन प्रणाली सञ्चालन गरिने भएको छ । यसअन्तर्गत फोन, मोबाइल एप, पोर्टल र सामाजिक सञ्जालमार्फत २४ सै घण्टा गुनासो दर्ता गर्न सकिने व्यवस्था मिलाइनेछ ।

यसैगरी, विद्यार्थीले आफ्ना शैक्षिक प्रमाणपत्र मोबाइल एप, नागरिक एप वा इमेलमार्फत डाउनलोड गर्न सक्ने व्यवस्था मिलाइनेछ । विश्वविद्यालयहरूले आवश्यक डिजिटल प्रणाली तयार गरी १५ दिनभित्र नागरिक एपसँग जोड्ने तयारी गर्ने निर्णय गरिएको छ ।