काठमाडौँ, वैशाख ७ – राष्ट्रिय स्वतन्त्र पार्टीका गृहमन्त्री सुधन गुरुङले पार्टी सभापति रवि लामिछानेसँग भेट गरेका छन् । उनीमाथि उठेका विवादका कारण पार्टीभित्र कारबाहीको बहस तीव्र भइरहेका बेला सोमबार बिहान उक्त भेट भएको हो ।
सम्पत्ति शुद्धीकरण प्रकरणमा मुछिएका दीपक भट्ट तथा शंकर समूहसँग व्यापारिक सम्बन्ध रहेको खुलासा भएपछि गुरुङ प्रश्नको घेरामा परेका छन् । यही विषयलाई लिएर उनले बुढानीलकण्ठस्थित सभापति लामिछानेको निवासमा भेटवार्ता गरेका हुन् ।
गोरखा–१ बाट निर्वाचित गुरुङ हालै चैत १३ गते गृहमन्त्री बनेका थिए । तर, नियुक्तिपछि नै विवादमा तानिँदै जाँदा पार्टीभित्र उनको भूमिकाबारे बहस बढेको छ ।
उनीविरुद्ध कारबाही गर्ने वा नगर्ने विषयमा निर्णय लिन सोमबार बस्ने केन्द्रीय समिति बैठकलाई निर्णायक रूपमा हेरिएको छ । पार्टी अनुशासन आयोगले पनि यसबारे आन्तरिक अध्ययन अघि बढाएको जनाइएको छ ।
विवाद चर्किँदै जाँदा गुरुङको राजनीतिक भविष्य र पार्टीको निर्णयप्रति चासो बढेको छ ।
