काठमाडौं, वैशाख ७ – राष्ट्रिय स्वतन्त्र पार्टीले भूपदेव शाहलाई महामन्त्री पदमा चयन गरेको छ । सोमबार सम्पन्न केन्द्रीय समिति बैठकले उक्त निर्णयलाई औपचारिक रूपमा अनुमोदन गरेको प्रवक्ता मनिष झाले बताएका छन् ।
भूपदेव शाह यसअघि पार्टीको केन्द्रीय सदस्यका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए । पार्टी संगठन विस्तारमा उनको सक्रिय भूमिका रहेको बताइन्छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह रास्वपामा आबद्ध हुँदा भूपदेव पनि सचिवालयमार्फत् नजिकबाट संलग्न भएका थिए । उनले बालेनका प्रमुख स्वकीय सचिवको रूपमा काम गर्दै आएका थिए ।
शाहलाई पार्टीभित्र बालेनका विश्वासपात्र सहयोगीका रूपमा चिनिन्छ । संगठनभित्र उनको प्रभाव र पहुँच उल्लेखनीय रहेको नेताहरू बताउँछन् ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनले अछाम–२ बाट उम्मेदवारी दिएका थिए । तर प्रतिस्पर्धामा भने उनी पराजित भएका थिए ।
