पाँच महिनामै प्रलोपा छाड्दै सुदन किराँती


पाँच महिनामै प्रलोपा छाड्दै सुदन किराँती
  • नवकिरण
  • बैशाख ९, २०८३

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को साधारण सदस्यता समेत त्याग गरेका छन् । यसअघि चैत १८ गते अध्यक्ष परिषद् सदस्यबाट राजीनामा दिएका उनले अब पार्टीसँगको सम्पूर्ण सम्बन्ध टुंग्याएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै छोटो अवधिको राजनीतिक यात्रामा साथ दिने सबैप्रति कृतज्ञता व्यक्त गरेका छन् । करिब पाँच महिनाको अवधिमा पार्टीभित्र रहँदा प्राप्त अनुभवप्रति उनले धन्यवाद दिएका छन् ।

माओवादी र एकीकृत समाजवादी लगायत दलहरूको एकीकरणपछि बनेको राजनीतिक समीकरणसँगै किराँती प्रलोपामा प्रवेश गरेका थिए । त्यसयता उनी पार्टीमा सक्रिय रहे पनि पछिल्लो समय अलग हुने संकेत देखिँदै आएको थियो ।

औपचारिक रूपमा पार्टी छोडे पनि व्यक्तिगत सम्बन्धहरू सकारात्मक र सम्मानजनक रहने उनले उल्लेख गरेका छन् । उनले आपसी सद्भाव र मित्रता कायम रहने विश्वास व्यक्त गरेका छन् ।

आफ्नो आगामी राजनीतिक यात्रा सहज नहुने स्वीकार गर्दै उनले देश र जनताको हितका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएका छन् । साथै शहीदहरूको सपनालाई मार्गनिर्देशन मानेर अघि बढ्ने बताएका छन् ।