काठमाडौं, वैशाख १० – राजधानी काठमाडौंको वायु प्रदूषण बिहीबार निकै अस्वस्थ तहमा पुगेको छ । उपत्यकाभरि बाक्लो तुवाँलो देखिँदा सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ ।
स्विट्जरल्याण्डस्थित वायु गुणस्तर मापन गर्ने संस्था आईक्यू एयरका अनुसार बिहीबार बिहान काठमाडौंको वायु गुणस्तर सूचक (एक्युआई) अधिकतम २४७ सम्म पुगेको थियो । समाचार तयार पार्दासम्म यो सूचक घटेर २१६ मा झरेको देखिएको छ ।
वायु गुणस्तर सूचक २०१ देखि ३०० बीच रहँदा ‘निकै अस्वस्थ’ मानिन्छ, जसले विशेषगरी बालबालिका, वृद्ध तथा दीर्घरोगीलाई बढी असर पार्ने गर्दछ । ३०१ भन्दा माथि पुगेमा भने ‘खतरनाक’ तहको संकेत मानिन्छ ।
हाल नेपाल विश्वकै सबैभन्दा प्रदूषित देशहरूको सूचीमा दोस्रो स्थानमा रहेको छ भने पाकिस्तान पहिलो स्थानमा छ । काठमाडौं उपत्यकामा देखिएको धुवाँ र धुलोका कारण दृश्यता समेत घटेको छ ।
सरकारले स्वीकृत गरेको मापदण्ड अनुसार एक्युआई ०–५० राम्रो, ५१–१०० मध्यम, १०१–१५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ र २०१–३०० निकै अस्वस्थ मानिन्छ ।
