खाडी खुलेसँगै विदेशिनेको लहर, दुई दिनमै ५ हजारभन्दा बढीले लिए श्रम स्वीकृति


खाडी खुलेसँगै विदेशिनेको लहर, दुई दिनमै ५ हजारभन्दा बढीले लिए श्रम स्वीकृति
  • नवकिरण
  • बैशाख १०, २०८३

काठमाडौँ, वैशाख १० – खाडी तथा पश्चिम एसियाका मुलुकमा रोकिएको वैदेशिक रोजगार पुनः सञ्चालनमा आएपछि विदेशिने नेपालीको संख्या ह्वात्तै बढ्न थालेको छ।

श्रम स्वीकृति खुला भएसँगै पछिल्लो दुई दिनमै ५ हजार ७ सय ३० जनाले श्रम स्वीकृति लिएका छन्। तीमध्ये ३ हजार ४ सय ८३ जना खाडी र पश्चिम एसियाका १२ मुलुकका लागि रहेका छन्।

वैदेशिक श्रम स्वीकृति शाखाका अनुसार बुधबार मात्रै २ हजार ९ सय ९६ जनाले स्वीकृति लिएका छन् भने मंगलबार २ हजार ७ सय ३४ जनाले श्रम स्वीकृति लिएका थिए।

इजरायल–अमेरिका र इरानबीचको द्वन्द्वका कारण करिब दुई महिनाअघि यी मुलुकमा श्रम स्वीकृति स्थगन गरिएको थियो। अवस्था सहज बनेपछि वैशाख ७ गतेदेखि पुनः खुला गरिएको हो।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म ५ लाख ८७ हजार ३ सय ३२ जनाले श्रम स्वीकृति लिएका छन्, जसमा ५ लाख १७ हजार ९ सय २९ पुरुष र ६९ हजार ४ सय ३ महिला रहेका छन्।