काठमाडौं, वैशाख १२ – बागमती नदी किनारस्थित थापाथलीको सुकुमवासी बस्तीमा अनधिकृत संरचना हटाउने सरकारी अभियान शनिबारदेखि सक्रिय रूपमा अघि बढाइएको छ। नदी कोरिडोर निर्माण तथा बागमती सभ्यता संरक्षणको योजनाअन्तर्गत बस्ती खाली गराउने काम भइरहेको हो।
अभियानलाई सहज बनाउन नेपाल प्रहरी र नगर प्रहरीको बाक्लो उपस्थिति देखिएको छ। सुरक्षाकर्मीहरूले सम्भावित तनावलाई मध्यनजर गर्दै अवस्था नियन्त्रणमा राखेका छन् भने यसपटक विगतको तुलनामा वातावरण शान्त देखिएको छ।
बस्तीमा पुगेका प्रहरीहरूले सुकुमवासीका दैनिक प्रयोगका सामग्री सुरक्षित रूपमा सार्न सहयोग गरिरहेका छन्। लत्ताकपडा, भाँडाकुँडा, ग्यास सिलिन्डर र ओछ्यानजस्ता अत्यावश्यक सामानहरू स्वयं बोकेर सुरक्षित स्थानमा पुर्याउने काम भइरहेको छ।
यसअघि यही क्षेत्रमा संरचना हटाउन खोज्दा स्थानीय र सुरक्षाकर्मीबीच झडपसमेत भएको थियो। तर, यसपटक प्रशासनले सहयोगात्मक रणनीति अपनाउँदै बस्ती खाली गराउने प्रयास गरेको देखिन्छ।
सरकारले सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचनाहरू हटाउने अभियानलाई निरन्तरता दिँदै आएको छ। सम्बन्धित निकायहरूले यसअघि नै पटक–पटक सूचना जारी गरी बस्ती खाली गर्न आग्रह गरिसकेका थिए।
