‘माननीय हुँ’ भन्दै प्रधानाध्यापकलाई थर्काएपछि सांसद पोखरेल विवादमा


‘माननीय हुँ’ भन्दै प्रधानाध्यापकलाई थर्काएपछि सांसद पोखरेल विवादमा
  • नवकिरण
  • बैशाख १२, २०८३

काठमाडौं, वैशाख १२ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेलले विद्यालयका प्रधानाध्यापकसँग गरेको व्यवहार र अभिव्यक्तिका कारण विवादमा परेका छन्। स्वागतका लागि नआएको विषयमा दिएको प्रतिक्रियापछि उनको आलोचना बढेको हो।

ओखलढुंगाबाट निर्वाचित पोखरेलले गृह जिल्लाको एक विद्यालयमा प्रधानाध्यापकलाई हप्काउँदै आफू ‘माननीय’ भएको र कर्मचारीले स्वागत गर्नुपर्ने बताएका थिए। उक्त अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया आएको छ।

पूर्वशिक्षामन्त्री महावीर पुनले यस्तो व्यवहार अस्वीकार्य भएको जनाउँदै सांसदलाई जिम्मेवार बन्न आग्रह गरेका छन्। उनले जनप्रतिनिधि जनताको सेवक भएको स्मरण गराएका छन्।

पार्टीभित्रैबाट पनि असन्तुष्टि देखिएको छ। रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले पदको घमण्ड नगर्न सुझाव दिएका छन् भने अन्य नेताहरूले पनि संयमित भाषा प्रयोग गर्नुपर्ने बताएका छन्।

सञ्चारकर्मी र कार्यकर्ताहरूले समेत पोखरेलको आलोचना गरेका छन्। जनताबाट निर्वाचित प्रतिनिधिले नम्र र जिम्मेवार व्यवहार देखाउनुपर्ने भन्दै सामाजिक सञ्जालमा विरोधका आवाज उठिरहेका छन्।