थापाथलीसहित विभिन्न क्षेत्रमा बस्ती खाली, ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा


थापाथलीसहित विभिन्न क्षेत्रमा बस्ती खाली, ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा
  • नवकिरण
  • बैशाख १२, २०८३

काठमाडौं, वैशाख १२ – सरकारले काठमाडौं उपत्यकाभित्र नदी किनार तथा जोखिमयुक्त सार्वजनिक र सरकारी जग्गामा बनेका अनधिकृत बस्ती हटाउने अभियानलाई तीव्र बनाएको छ ।

यस क्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ११ स्थित थापाथलीको बस्ती खाली गरिसकिएको छ भने वडा नम्बर ९ को गैरीगाउँ र वडा नम्बर ३१ को शान्तिनगरमा पनि खाली गराउने काम जारी रहेको छ ।

यससँगै कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ को गोठाटार बुद्धचोक र वडा नम्बर ९ को मनोहरा टोलका अनधिकृत बस्ती हटाउने तयारीसमेत अघि बढाइएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ घरधुरी अनधिकृत रूपमा बसोबास गर्दै आएका छन् ।

बस्ती खाली गराउने क्रममा नेपाल प्रहरी र महानगरका सुरक्षाकर्मीहरूले स्थानीयको सरसामान व्यवस्थापन तथा ढुवानीमा सहयोग गरेका छन् । महानगरका अनुसार स्थानीयवासीको सहकार्यका कारण थापाथलीमा बस्ती खाली गर्ने कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो ।

हालसम्म थापाथलीका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा आएका छन् भने अन्य स्थानका परिवार पनि सम्पर्कमा आउने क्रम जारी छ । सम्पर्कमा आएका परिवारलाई दशरथ रंगशालामा ल्याएर विवरण सङ्कलन गर्ने र त्यसपछि काठमाडौंका विभिन्न होटलमा अस्थायी रूपमा राख्ने तयारी गरिएको छ ।

अहिलेसम्म उनीहरूको घरायसी सामान कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग ब्यास नेपाल परिसरमा सुरक्षित रूपमा राखिएको जनाइएको छ । महानगरले भोलिबाट सम्पर्कमा आएका परिवार वास्तविक सुकुमबासी हुन् वा होइनन् भन्ने पहिचान प्रक्रिया सुरु गर्ने जनाएको छ ।

पहिचानमा वास्तविक सुकुमबासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका वडा नम्बर १ मा रहेको सरकारी अपार्टमेन्टमा स्थानान्तरण गरिने योजना रहेको छ । त्यसपछि उनीहरूको दीर्घकालीन व्यवस्थापनका लागि थप प्रक्रिया अघि बढाइने महानगरले जनाएको छ ।