काठमाडौं, वैशाख १५ – नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारस्थित कार्यालयमा सुरु भएको छ । आजको बैठकले दलको नेता चयन गर्ने मुख्य एजेन्डा राखेको छ ।
बैठकअघि बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने निर्णय गरिसकेको छ । सो निर्णयलाई आजको संसदीय दलको बैठकबाट अनुमोदन गर्ने तयारी भइरहेको छ ।
यदि आङ्देम्बे सर्वसम्मत रूपमा चयन भएमा २०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि कांग्रेसमा पहिलोपटक सर्वसम्मत दलको नेता चयन हुने अवस्था बन्नेछ । आङ्देम्बे समानुपातिकतर्फबाट सांसद हुन् ।
बैठकमा पार्टी सभापति गगन थापा पनि सहभागी भएका छन् । सभापतिमा निर्वाचित भएपछि उनी पहिलोपटक संसदीय दलको कार्यालय पुगेका हुन् । उनलाई पार्टीका विभिन्न पदाधिकारीहरूले स्वागत गरेका थिए ।
यसअघि आङ्देम्बेसँगै अर्जुननरसिंह केसी र मोहन आचार्य पनि प्रमुख दाबेदार मानिएका थिए । तर पार्टीभित्र एकताको सन्देश दिन आङ्देम्बेलाई नै नेता बनाउनुपर्ने धारणा बलियो बनेको छ । देउवा र कोइराला समूहको समर्थनसँगै ३८ सदस्यीय दलमा उनको पक्षमा बहुमत पुग्ने देखिएको छ ।
