विद्यार्थी सङ्गठन खारेजीविरुद्ध पाटनमा शान्तिपूर्ण प्रदर्शन


विद्यार्थी सङ्गठन खारेजीविरुद्ध पाटनमा शान्तिपूर्ण प्रदर्शन
  • नवकिरण
  • बैशाख १४, २०८३

काठमाडौं, वैशाख १५ – विद्यार्थी सङ्गठन खारेज गर्ने सरकारी निर्णयको विरोधमा संयुक्त विद्यार्थी सङ्गठनले पाटन संयुक्त क्याम्पसमा प्रदर्शन गरेका छन् ।

सोमबार क्याम्पस परिसरमा भेला भएका विद्यार्थीहरूले शान्ति स्वस्तिवाचन र शङ्खघोष गर्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए । उनीहरूले उक्त निर्णयले विद्यार्थीहरूको आवाज दबाउने प्रयास भएको आरोप लगाएका छन् ।

प्रदर्शनमा सहभागीहरूले सरकारले तत्काल निर्णय फिर्ता लिनुपर्ने माग राख्दै अन्यथा आन्दोलनलाई थप विस्तार गर्ने चेतावनी दिएका छन् । उनीहरूका अनुसार विद्यार्थी अधिकार र स्वतन्त्रतामाथि हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् ।

यसै क्रममा सीमाक्षेत्रमा सामान्य मूल्यका सामग्रीमा समेत भन्सार लगाइएको विषयप्रति पनि उनीहरूले विरोध जनाएका छन् । यस्तो व्यवस्थाले सर्वसाधारणलाई आर्थिक रूपमा प्रभावित पारेको उनीहरूको भनाइ छ ।

सरकारले माग बेवास्ता गरे देशभर आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने तयारीमा आफूहरू रहेको विद्यार्थी सङ्गठनहरूले जनाएका छन् ।