काठमाडौं, वैशाख १५ – जलेर नष्ट भइसकेका सवारी साधनको नाममा इन्धन दुरुपयोग भएको विषय सार्वजनिक भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले छानबिन गरी दोषीमाथि कारबाही गर्न निर्देशन दिनुभएको छ।
मन्त्रालयका अनुसार ‘जेनजी’ आन्दोलनका क्रममा क्षतिग्रस्त भएका गाडीको विवरण प्रयोग गरी कर्मचारीहरूले इन्धन सुविधा लिँदै आएको तथ्य बाहिरिएपछि मन्त्री मेहताले प्रशासन सचिव डिल्लीराम शर्मालाई तत्काल अनुसन्धान अघि बढाउन निर्देशन दिनुभएको हो।
उक्त आन्दोलनका बेला स्वास्थ्य मन्त्रालयका १८ वटा र मातहतका निकायका थप ६ वटा गरी २४ वटा सवारी साधन जलेका थिए। तीमध्ये धेरैजसो पूर्ण रूपमा प्रयोग गर्न नसकिने अवस्थामा पुगेका छन्।
यस्ता सवारी साधनको नाममा इन्धन उठाइएको पाइएपछि मन्त्रालयले यसलाई गम्भीर अनियमितता मानेको छ। मन्त्री मेहताले संलग्न जो–कोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउन स्पष्ट निर्देशन दिनुभएको छ।
मन्त्रालयले घटनाको विस्तृत छानबिन सुरु गरिसकेको र निष्कर्षका आधारमा आवश्यक कदम चालिने जनाएको छ।
