काठमाडौं, वैशाख १६ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनका लागि कसैलाई पनि टिकटको आश्वासन नदिन पार्टीभित्र कडाइ गरेका छन्। उनले यस्तो निर्देशन बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको अनौपचारिक बैठकमा दिएका हुन्।
पार्टीका प्रवक्ता मनिष झाले दिएको जानकारी अनुसार कसैले पनि व्यक्तिगत रूपमा उम्मेदवार बनाउने आश्वासन दिन नपाउने स्पष्ट निर्देशन दिइएको छ। यदि यस्तो अभ्यास भएको पाइएमा सम्बन्धित व्यक्तिलाई कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
आगामी २०८४ सालमा हुने स्थानीय तह र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रास्वपाले उम्मेदवार छनोट प्रक्रिया व्यवस्थित बनाउन ‘क्यान्डिडेट क्लब’ सञ्चालन गर्ने निर्णय गरेको छ। यो कार्यक्रम वैशाख २० गतेदेखि सुरु हुनेछ।
उक्त कार्यक्रममार्फत इच्छुक उम्मेदवारलाई आवश्यक प्रशिक्षण दिइने र योग्य व्यक्तिहरू छनोट गरिने जनाइएको छ। क्यान्डिडेट क्लबको संयोजनको जिम्मेवारी सहमहामन्त्री विपिन कुमार आचार्यलाई दिइएको छ।
पार्टीले पारदर्शी र व्यवस्थित ढङ्गबाट उम्मेदवार चयन गर्ने लक्ष्य राखेको उल्लेख गर्दै लामिछानेले अनुशासन उल्लङ्घन गर्ने जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याइने बताएका छन्।
