काठमाडौं, वैशाख १६ – संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख चार विपक्षी दलहरूले सरकारले सिफारिस गरेका अध्यादेशहरूको विरोध गर्दै राष्ट्रपतिलाई स्वीकृत नगर्न आग्रह गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूको बुधबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको संयुक्त बैठकले सरकारले ल्याएका अध्यादेशहरू असंसदीय र लोकतान्त्रिक मूल्यविपरीत भएको निष्कर्ष निकालेको हो ।
बैठकले सरकार संसद् छल्ने नियतका साथ अध्यादेश ल्याउन अग्रसर भएको आरोप लगाउँदै ती सबै अध्यादेश तुरुन्त फिर्ता लिन माग गरेको छ । साथै, स्थगित गरिएको संसद् अधिवेशन तत्काल बोलाउन पनि सरकारसँग आग्रह गरिएको छ ।
विपक्षी दलहरूले संसद्को अधिकार कमजोर पार्ने गरी ल्याइएका कानुन संशोधनसम्बन्धी अध्यादेशहरूलाई स्वीकृत नगर्न राष्ट्रपतिलाई पनि आग्रह गरेका छन् । उनीहरूले विधिसम्मत छलफल र प्रक्रियाबाट मात्र कानुनी व्यवस्था अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
संयुक्त विज्ञप्तिमा नेताहरूले सरकारले लोकतान्त्रिक अभ्यास कमजोर पार्ने प्रयास गरेको भन्दै कडा आलोचना गरेका छन् । बैठकमा सहभागी दलका नेताहरूले यस्तो कदम निन्दनीय भएको उल्लेख गर्दै सरकारलाई सचेत गराएका छन् ।
