१०० रुपैयाँमाथिको भन्सार निर्णयप्रति गगन थापाको आपत्ति, तत्काल फिर्ता लिन माग


१०० रुपैयाँमाथिको भन्सार निर्णयप्रति गगन थापाको आपत्ति, तत्काल फिर्ता लिन माग
  • नवकिरण
  • बैशाख १७, २०८३

काठमाडौँ, वैशाख १७ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार तिर्नुपर्ने सरकारको निर्णय अव्यवहारिक रहेको बताएका छन्। सीमावर्ती क्षेत्रका नागरिकको दैनिकीमा यसले अनावश्यक दुःख थपेको उनको भनाइ छ।

सर्लाहीको सीमाक्षेत्रको भ्रमणपछि प्रतिक्रिया दिँदै थापाले स्थानीयले भोगिरहेको समस्या प्रत्यक्ष रूपमा अनुभव गरेको बताएका छन्। उनले सीमामा सामान्य सामान लिएर आउँदा समेत नागरिकले घण्टौँ कुर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गरेका छन्।

उनका अनुसार ज्यालादारी कामका लागि भारत जाने मजदुरहरू सामान्य उपभोग्य सामग्री लिएर फर्कँदा समेत कडाइका कारण सास्ती भोग्न बाध्य छन्। स्थानीय महिलाहरूले समेत पहिले सहज रूपमा सीमा पार गर्ने अवस्था अहिले डर र असहजतामा परिणत भएको गुनासो गरेको उनले बताएका छन्।

थापाले उक्त व्यवस्था नयाँ नभए पनि व्यवहारमा लागू गर्दा यसको अव्यवहारिकता झन् स्पष्ट भएको स्वीकार गरेका छन्। विगतमा पनि यो कानुन रहे तापनि लागू नगरिएको स्मरण गर्दै समयमै सुधार नगर्नु कमजोरी भएको उनको भनाइ छ।

उनले यो नीति नागरिकमैत्री नभई मधेशको दैनिकीमा प्रत्यक्ष असर पार्ने ‘हेपाह प्रवृत्ति’ को उदाहरण भएको बताए। भन्सारबाट उल्लेखनीय राजस्व समेत नउठ्ने अवस्थामा यस्तो निर्णयले सर्वसाधारणलाई मात्र दुःख दिएको उनको तर्क छ।

थापाले सरकारसँग उक्त निर्णय तत्काल फिर्ता लिन र सीमामा पहिले जस्तै सहज आवतजावत सुनिश्चित गर्न आग्रह गरेका छन्। उनले सीमावर्ती क्षेत्रलाई राष्ट्रको महत्वपूर्ण अंगका रूपमा बुझेर संवेदनशील नीतिगत निर्णय लिनुपर्ने आवश्यकता औँल्याएका छन्।