दोस्रो चरणमा बागमती किनारका थप बस्ती हटाइने


दोस्रो चरणमा बागमती किनारका थप बस्ती हटाइने
  • नवकिरण
  • बैशाख १७, २०८३

काठमाडौं, वैशाख १७ – शहरी विकास मन्त्रालयले बागमती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरू हटाउने दोस्रो चरणको अभियान शुक्रबारदेखि सुरु गर्ने जनाएको छ।

पहिलो चरणअन्तर्गत सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्तीहरू स्थानान्तरण गरिसकिएको मन्त्रालयले जानकारी दिएको छ। अब बाँकी जोखिमयुक्त क्षेत्रका बस्तीहरूलाई सुरक्षित स्थानमा सार्ने काम अघि बढाइनेछ।

यस अभियानलाई व्यवस्थित बनाउन बिहीबार मन्त्रालयमा विभिन्न सरकारी निकायबीच समन्वय बैठक सम्पन्न भएको थियो। बैठकले आवश्यक तयारी पूरा भएको निष्कर्ष निकालेको छ।

जोखिम क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई बसमार्फत दशरथ रंगशालामा ल्याइनेछ, जहाँ प्राथमिक दर्ता केन्द्र स्थापना गरिएको छ। त्यहाँ सूचना संकलन, स्वघोषणा फारम भर्ने र डिजिटल विवरण दर्ता गर्ने व्यवस्था मिलाइएको छ।

स्थानान्तरणका क्रममा लैजान नसकिने सामानको सुरक्षाका लागि सुरक्षा निकाय परिचालन गरिनेछ। साथै, आश्रयको व्यवस्था नभएका परिवारलाई होल्डिङ सेन्टरसम्म पुर्‍याउन पनि यातायातको व्यवस्था गरिएको छ।

प्रभावित नागरिकका लागि स्वास्थ्य सेवा, राहत सामग्री तथा मनोसामाजिक परामर्श सेवा दर्ता केन्द्र र होल्डिङ सेन्टर दुवै स्थानमा उपलब्ध गराइनेछ।

संकलित विवरणका आधारमा सुकुम्बासीको पहिचान गरिनेछ। पहिचान हुन नसकेका व्यक्तिहरूलाई भने फिर्ता पठाइनेछ भने पहिचान भएका परिवारलाई निश्चित अवधिसम्म सहयोग उपलब्ध गराई पुनःस्थापनाको प्रक्रिया अघि बढाइनेछ।

त्यसैगरी, नदी किनार अतिक्रमण गरी अवैध रूपमा भाडा असुल्ने वा अन्य गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूमाथि छानबिन गरी कानुनी कारबाही गरिने मन्त्रालयले जनाएको छ।