रोल्पामा भीषण जिप दुर्घटना : एउटै परिवारका ७ जना सहित २० जनाको ज्यान गयो


रोल्पामा भीषण जिप दुर्घटना : एउटै परिवारका ७ जना सहित २० जनाको ज्यान गयो
  • नवकिरण
  • बैशाख १८, २०८३

रोल्पा, वैशाख १८ – रोल्पाको थवाङ गाउँपालिका–१ जलजला क्षेत्रमा भएको जिप दुर्घटनामा २० जनाले ज्यान गुमाएका छन्। दुर्घटनामा परेकामध्ये ७ जना एउटै परिवारका सदस्य रहेको पुष्टि भएको छ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ टाकुराका दुई दाजुभाइका परिवारका ७ जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बिरेन्द्र बस्नेतले बताएका छन्। उनका अनुसार एक जनाको परिवारबाट श्रीमती, छोरा, बुहारी र नाति गरी ४ जना तथा अर्का भाइको परिवारबाट श्रीमती, छोरा र छोरी गरी ३ जना ज्यान गुमाएका हुन्।

दुर्घटनामा मृत्यु हुनेमध्ये ९ जना सिस्ने–५ का, एक जना भूमे गाउँपालिका–५ का र अन्य दाङका रहेको जनाइएको छ। मृतकहरूको पहिचान गर्ने काम जारी रहेको छ।

बिहीबार दिउँसो रुकुम पूर्वबाट थवाङतर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप करिब ८ सय मिटर तल खसेपछि दुर्घटना भएको हो। वर्षा र अँध्यारोका कारण उद्धार कार्य रोकिएको थियो।

शुक्रबार बिहानदेखि सुरक्षाकर्मीको सक्रियतामा उद्धार कार्य पुनः सुरु गरिएको छ। हाल शवहरू संकलन गरी थवाङतर्फ ल्याइँदैछ।

दुर्घटनामा १२ महिला, ४ पुरुष र ४ बालकको ज्यान गएको छ भने ३२ वर्षीय समिर कामी घाइते भएका छन्। उनलाई उपचारका लागि अस्पताल लगिएको छ।