धनगढी, वैशाख २० – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य केपी खनाल ऐलानी जग्गामा घर निर्माण गरेको विषय सार्वजनिक भएपछि विवादमा तानिएका छन् । कैलाली–२ बाट निर्वाचित खनालको लम्कीचुहा नगरपालिका–१ स्थित बसपार्क नजिकै निर्माण भइरहेको घरलाई लिएर सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ ।
सार्वजनिक तथा अतिक्रमित जग्गामा बनेका संरचना हटाउने सरकारी अभियान चलिरहेका बेला खनालको घर पनि त्यही श्रेणीमा पर्ने भन्दै आलोचना बढेको हो । कतिपयले अन्यत्र जस्तै यस घरमा पनि डोजर चलाउनुपर्ने आवाज उठाएका छन् ।
तर, खनालको सचिवालयले भने यी आरोपलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको बताएको छ । सचिवालयका सदस्य हर्क पुनले सामाजिक सञ्जालमार्फत खनाललाई बदनाम गर्न खोजिएको दाबी गर्दै यसलाई प्रतिशोधपूर्ण गतिविधि भनेका छन् ।
उनले खनालका परिवारले वर्षौंदेखि उक्त स्थानमा बसोबास गर्दै आएको र अभिभावकले वैदेशिक रोजगारीबाट कमाएको रकमले घर निर्माण गरेको उल्लेख गरे । यस्तो अवस्थामा माननीयलाई लक्षित गरेर उठाइएका प्रश्न उचित नभएको उनको भनाइ छ ।
यद्यपि, घर ऐलानी जग्गामै रहेको तथ्यलाई सचिवालयले अस्वीकार गरेको छैन । उक्त घर तीन तलाको निर्माणाधीन अवस्थामा रहेको जनाइएको छ ।
लम्कीचुहा क्षेत्रमा धेरै बासिन्दा ऐलानी जग्गामै बस्दै आएको उल्लेख गर्दै सचिवालयले खनालको परिवारले पनि लालपूर्जा प्राप्तिका लागि आवश्यक प्रक्रिया अघि बढाइसकेको जनाएको छ । भूमि आयोगमार्फत नाम दर्ता भइसके पनि लालपूर्जा भने हालसम्म नआएको बताइएको छ ।
