काठमाडौं, वैशाख २१ – सरकारले लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने मार्गमा पर्ने भू–भाग नेपालको भएको दाबी पुनः दोहोर्याएको छ। मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग बोल्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सीमाना विवाद रहेको उक्त क्षेत्र नेपालकै भूमि भएकोमा सरकार स्पष्ट रहेको बताएका छन्।
भारतले लिपुलेक मार्ग प्रयोग गरेर मानसरोवर यात्रा सञ्चालन गर्ने तयारी गरेपछि नेपालले असन्तुष्टि जनाउँदै परराष्ट्र मन्त्रालयमार्फत भारत र चीनलाई कूटनीतिक नोट पठाएको छ। उक्त नोटमा विवादित क्षेत्रमा कुनै गतिविधि नगर्न आग्रह गरिएको छ।
यता भारतले भने नेपाललाई दिएको प्रतिक्रियामा लिपुलेक हुँदै जाने मार्ग पुरानै विषय भएको दाबी गरेको छ। भारतीय विदेश मन्त्रालयले सन् २०२६ जुनदेखि अगस्टसम्म मानसरोवर यात्रा सञ्चालन गरिने जानकारी दिँदै यसका लागि २० वटा समूह बनाइने जनाएको छ।
उक्त समूहहरूमध्ये १० समूह उत्तराखण्डबाट लिपुलेक पास हुँदै र बाँकी १० समूह सिक्किमको नाथु ला पास हुँदै जानेछन्। प्रत्येक समूहमा करिब ५० जना यात्रु रहनेछन्।
सरकारका प्रवक्ता पोखरेलले यो विषय कूटनीतिक संवाद र सहकार्यमार्फत समाधान गर्नुपर्नेमा जोड दिँदै नेपाल आफ्नो दाबीमा अडिग रहेको बताएका छन्।
