कक्षा कोठा नभएपछि टेन्टमै पढाइ, तीन विद्यालय प्रभावित


कक्षा कोठा नभएपछि टेन्टमै पढाइ, तीन विद्यालय प्रभावित
  • नवकिरण
  • बैशाख २२, २०८३

काठमाडौं, वैशाख २२ – काठमाडौंमा खोला–नदी किनारका बस्ती हटाउने क्रममा तीन वटा सामुदायिक विद्यालय डोजर लगाएर भत्काइएपछि सयौं विद्यार्थीको पढाइ प्रभावित भएको छ। अहिले ती विद्यालयहरू अस्थायी रूपमा अन्य स्थानमा सारिएका छन्।

मनोहराको श्री सरस्वती आधारभूत विद्यालय भत्किएपछि विद्यार्थीहरूलाई नजिकैको सामुदायिक भवनमा राखेर पढाइ सुरु गरिएको छ। कक्षाकोठा अभावका कारण टेन्ट र खुला स्थानमै कक्षा सञ्चालन भइरहेको छ।

विद्यालयका शिक्षकहरू बहुकक्षा प्रणाली अपनाउँदै पढाइ निरन्तर राख्न जुटेका छन्। भवन भत्काउनु अघि पर्याप्त सूचना नदिएको भन्दै विद्यालय प्रशासनले असन्तुष्टि जनाएको छ।

बालाजुस्थित बुद्धज्योति उद्यान आधारभूत विद्यालयलाई तरुण माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको छ। भवन नहुँदा विद्यार्थीको उपस्थितिमा कमी आएको र व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।

त्यस्तै, बाल कल्याण आधारभूत विद्यालयलाई युवक माध्यमिक विद्यालयमा सारिएको छ। आवश्यक सामग्रीसहित शिक्षक र विद्यार्थीले त्यहीँबाट पढाइ अगाडि बढाएका छन्।

काठमाडौं महानगरपालिकाले हालको व्यवस्था अस्थायी भएको बताउँदै भविष्यमा यी विद्यालयलाई मर्ज गर्ने योजना अघि बढाइएको जनाएको छ। अभिभावकहरूले भने बालबालिकाको पढाइमा परेको असरप्रति चिन्ता व्यक्त गरेका छन्।