अदालतको निर्णयपछि शेखर गोल्छा रिहा हुने बाटो खुल्यो


अदालतको निर्णयपछि शेखर गोल्छा रिहा हुने बाटो खुल्यो
  • नवकिरण
  • बैशाख २२, २०८३

काठमाडौं, वैशाख २२ – नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई हिरासतमा राखेर थप अनुसन्धान गर्न नपाइने भएको छ। काठमाडौं जिल्ला अदालतले मंगलबार उनलाई म्याद थपका लागि उपस्थित गराउँदा उक्त माग अस्वीकार गरेको हो।

न्यायाधीश मोना सिंहको इजलासले दिएको आदेशमा गोल्छालाई हिरासतमा राखिरहनुपर्ने पर्याप्त आधार नदेखिएको उल्लेख गरिएको छ। आदेशमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४(३) अनुसार म्याद थप गर्न नमिल्ने स्पष्ट पारिएको छ।

यसअघि सोमबार सर्वोच्च अदालतले उनलाई धितोपत्रसम्बन्धी मुद्दामा रिहा गर्न आदेश दिएको थियो। तर सोही दिन केही समयपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बीमा सम्बन्धी अर्को कसुरमा अनुसन्धान आवश्यक रहेको भन्दै पुनः पक्राउ गरेको थियो।

सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै गोल्छालाई रिहा गर्न आदेश दिएको थियो।

अदालतको पछिल्लो आदेशसँगै गोल्छा रिहा हुने प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।