सुदूरपश्चिम एमाले किचलो मिलाउन ओलीको ‘एक्सन’


सुदूरपश्चिम एमाले किचलो मिलाउन ओलीको ‘एक्सन’
  • नवकिरण
  • बैशाख २३, २०८३

धनगढी, वैशाख २३ – नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलभित्रको विवाद समाधान गर्न अध्यक्ष केपी शर्मा ओली सक्रिय बनेका छन्। उनले प्रदेशका एमाले सांसदहरूलाई छलफलका लागि काठमाडौँ बोलाएका छन्।

भक्तपुरको गुण्डुमा आज बस्ने बैठकमा संसदीय दलका नेता राजेन्द्र सिंह रावलसहित ११ जना सांसद सहभागी हुनेछन्। बैठक समय केही हेरफेर हुन सक्ने बताइएको छ।

रावलको कार्यशैलीप्रति असन्तुष्ट सांसदहरूले नेतृत्व परिवर्तनको माग गर्दै आएका छन्। उनीहरू सहमतिबाट नभए प्रक्रियाबाट भए पनि नयाँ नेता चयन गर्नुपर्ने अडानमा छन्।

बैठकमा नेतृत्व विवादसँगै प्रदेश सरकारको भविष्य र नयाँ सत्ता समीकरणबारे पनि छलफल हुने जनाइएको छ। कांग्रेस नेतृत्वको सरकारसँगको सहकार्यप्रति एमालेभित्र असन्तुष्टि बढ्दो छ।

एमाले नेता हिरा सार्कीले नेतृत्वबारे छलफल हुने पुष्टि गरे पनि सरकार परिवर्तनबारे अहिलेसम्म ठोस निर्णय नभएको बताएका छन्।