स्थानीय तहका जनप्रतिनिधि नै करणी आरोपमा पक्राउ


स्थानीय तहका जनप्रतिनिधि नै करणी आरोपमा पक्राउ
  • नवकिरण
  • बैशाख २४, २०८३

सुर्खेत, वैशाख २४ – जुम्लामा एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा गाउँपालिकाका वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्तबहादुर बुढा रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार २६ वर्षीया महिलाले दिएको जाहेरीपछि बुधबार बुढालाई नियन्त्रणमा लिइएको हो । घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।

प्रहरी प्रमुख डीएसपी रबिनबाबु रेग्मीका अनुसार पीडित महिला अविवाहित हुन् भने आरोपित वडाध्यक्ष विवाहित व्यक्ति हुन् ।

प्रहरीले अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ । घटनासम्बन्धी थप विवरण संकलन भइरहेको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय तहका जनप्रतिनिधिमाथि गम्भीर आरोप लागेपछि उक्त घटना क्षेत्रभर चर्चाको विषय बनेको छ ।