गोरखाका सडक आयोजना बेवारिसे, निर्माण व्यवसायीलाई कडा चेतावनी


गोरखाका सडक आयोजना बेवारिसे, निर्माण व्यवसायीलाई कडा चेतावनी
  • नवकिरण
  • बैशाख २५, २०८३

गोरखा, वैशाख २५ – निर्माण कार्यमा ढिलासुस्ती गर्दै सडक आयोजना अलपत्र पारेको आरोपमा गोरखाका दुई निर्माण कम्पनीलाई पूर्वाधार विकास कार्यालयले सात दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ । कार्यालयले काममा सुधार नआए ठेक्का रद्द गर्ने चेतावनीसमेत दिएको छ ।

कार्यालयका अनुसार पटक–पटक म्याद थप गर्दा पनि दुवै आयोजनामा अपेक्षित प्रगति हुन सकेको छैन । मौखिक र लिखित ताकेता गर्दा समेत निर्माण कम्पनीले चासो नदिएको आरोप लगाइएको छ ।

नरेश्वर–पाणिनी चौतारा–निबेल–ताकुकोट सडक स्तरोन्नति आयोजना एम/एस अमर/ज्ञानेश जेभीले लिएको थियो । आर्थिक वर्ष २०७७/७८ मा सम्झौता भएको यो आयोजना अझै अधुरै रहेको छ ।

त्यस्तै, माछाखोला–लाप्सिबोट–यामगाउँ–गुम्दा सडक निर्माणको जिम्मा अमर पिआर नाना जेभीले आर्थिक वर्ष २०७६/७७ मा पाएको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि आयोजना प्रभावित बनेको कार्यालयले जनाएको छ ।

पूर्वाधार विकास कार्यालयले सात दिनभित्र कार्यतालिका, स्रोत व्यवस्थापन योजना र काम सम्पन्न गर्ने स्पष्ट प्रतिबद्धतासहित उपस्थित हुन निर्देशन दिएको छ । अन्यथा सार्वजनिक खरिद ऐनअनुसार ठेक्का तोड्ने, धरौटी जफत गर्ने र कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।