काठमाडौँ, वैशाख २५ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘हर्क साम्पाङ’ले प्रधान न्यायाधीश सिफारिस प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै सरकारको कदममाथि प्रश्न उठाएका छन् । उनले विधि, प्रक्रिया र वरियताको मापदण्ड मिचेर निर्णय गरिएको आरोप लगाएका हुन् ।
शुक्रबार जारी विज्ञप्तिमा साम्पाङले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णयलाई गलत अभ्यासको संज्ञा दिएका छन् । संसद्लाई छलेर र राष्ट्र प्रमुखमाथि दबाब सिर्जना गरेर प्रक्रिया अघि बढाइएको उनको दाबी छ ।
उनले वरियतामा पछाडि रहेका व्यक्तिलाई प्रधान न्यायाधीशका लागि अघि सार्नु न्याय प्रणालीकै मर्यादाविपरीत भएको बताएका छन् । यस्तो निर्णयले न्यायालयप्रतिको जनविश्वास कमजोर बन्न सक्ने उनको भनाइ छ ।
साम्पाङले आफ्नै पार्टीबाट उपसभामुख बनेकी नेताले उक्त निर्णयमा हस्ताक्षर गरेको विषयप्रति पनि असन्तोष व्यक्त गरेका छन् । दबाब र प्रभावबीच गरिएको निर्णयमा समर्थन जनाउनु खेदजनक भएको उनले उल्लेख गरेका छन् ।
उनले नियुक्ति प्रक्रियामाथि राजनीतिक स्वार्थ जोडिएको आशंका व्यक्त गर्दै केही संवेदनशील मुद्दामा प्रभाव पार्ने उद्देश्यले सरकार अघि बढेको हुन सक्ने दाबी गरेका छन् ।
