काठमाडौं, वैशाख २६ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई अनावश्यक हल्ला र भ्रममा नपर्न आग्रह गरेका छन् । सरकारले व्यवसायीलाई धरपकड गर्ने वा नियन्त्रणमा लिने कुनै योजना नबनाएको स्पष्ट पार्दै उनले निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार भएको बताएका हुन् ।
शुक्रबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले व्यवसायीहरूलाई ढुक्क भएर लगानी र व्यापारमा अघि बढ्न आग्रह गरे । “सरकारले व्यवसायीलाई थुन्ने वा कारबाही गर्ने कुनै सूची बनाएको छैन । हल्लाको पछि नलाग्नुहोस्, निजी क्षेत्र देशको आर्थिक विकासको सहयात्री हो,” उनले भने ।
उनले मुलुकको आर्थिक रूपान्तरणका लागि सरकारले दीर्घकालीन योजना अघि सारेको जानकारी दिए । सरकारको लक्ष्य १०० बिलियन डलरको अर्थतन्त्र निर्माण गर्नु रहेको उल्लेख गर्दै त्यसमा निजी क्षेत्रको भूमिका निर्णायक हुने बताए ।
अर्थमन्त्री वाग्लेले सरकारका पाँच प्रमुख प्राथमिकतासमेत सार्वजनिक गरे । उनका अनुसार सुशासन पहिलो प्राथमिकता हो भने अर्थतन्त्रको पुनरुत्थान दोस्रो प्राथमिकतामा रहेको छ । यस्तै आन्तरिक तथा बाह्य कनेक्टिभिटी विस्तार, सामाजिक क्षेत्रमा लगानी वृद्धि तथा पर्यटन, संस्कृति र इतिहासमार्फत नेपालको ‘सफ्ट पावर’ विस्तार अन्य प्राथमिकतामा रहेका छन् ।
मुलुकको अर्थतन्त्र सुधारको दिशामा अघि बढिरहेको दाबी गर्दै उनले उद्योगी–व्यवसायीलाई आगामी बजेटसम्म धैर्य गर्न आग्रह गरे । राजनीतिक स्थायित्व र इमानदार नेतृत्व भए नेपालले पनि छिमेकी भारत ले जस्तै आर्थिक फड्को मार्न सक्ने उनको भनाइ थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले सन् २०१४ मा सत्ता सम्हाल्दा भारतको आर्थिक अवस्था अहिलेको नेपालको अवस्थासँग केही हदसम्म मिल्दोजुल्दो रहेको उल्लेख गर्दै उनले पछिल्ला वर्षमा भारतले उल्लेखनीय प्रगति गरेको उदाहरण प्रस्तुत गरे
