पार्टीभित्र गुटबन्दी नगर्न रवि लामिछानेको निर्देशन, ‘रास्वपा फुट्दैन’


पार्टीभित्र गुटबन्दी नगर्न रवि लामिछानेको निर्देशन, ‘रास्वपा फुट्दैन’
  • नवकिरण
  • बैशाख २७, २०८३

काठमाडौं, वैशाख २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र गुटबन्दी नगर्न सांसदहरूलाई निर्देशन दिएका छन् । ललितपुरमा आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै उनले पार्टी फुट्ने कुनै सम्भावना नरहेको स्पष्ट पारे ।

पार्टीभित्र ‘फलानो नेताको मान्छे’ भन्ने किसिमको चर्चा चलाइएको भन्दै लामिछानेले त्यसमा कुनै सत्यता नभएको बताए । व्यक्तिगत स्वार्थ वा पदका लागि नभई देशको भविष्य र राजनीतिक परिवर्तनको उद्देश्यले आफूहरू एक ठाउँमा उभिएको उनको भनाइ थियो ।

उनले विगतमा राजनीतिक रूपमा एकजुट हुनुपर्ने शक्तिहरूबीच विभाजन हुँदा देशले ठूलो क्षति बेहोरेको टिप्पणी गरे । त्यही कारणले नेपाल धेरै वर्ष पछाडि धकेलिएको उल्लेख गर्दै उनले अहिले त्यस्तो गल्ती दोहोरिन नदिने बताए ।

लामिछानेले केही सञ्चारमाध्यमले पार्टी विभाजनको हल्ला फैलाउने प्रयास गरेको आरोप पनि लगाए । आफूहरू राजनीतिक रूपमा परिपक्व रहेको दाबी गर्दै उनले रास्वपामा फुटको कुनै आधार वा सम्भावना नरहेको जिकिर गरे ।

फरक प्रसंगमा उनले सुकुमवासी समस्याको समाधानका लागि सरकार गम्भीर भएर लागिरहेको बताए । कसैलाई पनि घरबारविहीन बनाउने उद्देश्य नरहेको उल्लेख गर्दै व्यवस्थित ढंगले समस्या समाधान गरिने उनको भनाइ थियो ।