ट्राफिकको एक्सन : यात्रुमाथि हातपात गर्ने सहचालक पक्राउ


ट्राफिकको एक्सन : यात्रुमाथि हातपात गर्ने सहचालक पक्राउ
  • नवकिरण
  • बैशाख २८, २०८३

काठमाडौं, वैशाख २८ – ललितपुरको एकान्तकुनामा यात्रुमाथि कुटपिट गर्ने बसका सहचालकलाई प्रहरीले पक्राउ गरेको छ । घटना सम्बन्धी भिडियो सामाजिक सञ्जालमा फैलिएको केही समयमै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्ने सहचालक २६ वर्षीय कुशाङ्ग शेर्पा रहेको प्रहरीले जनाएको छ । उनी बा ५ ख ६८४० नम्बरको यात्रुबाहक बसमा कार्यरत थिए । भोजपुरको साल्पासिलिचो गाउँपालिका–४ घर भएका शेर्पा हाल काठमाडौंको सुकेधारामा बस्दै आएका थिए ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यात्रुसँग विवाद भएपछि सहचालकले सार्वजनिक स्थलमै मुक्का प्रहार गरेका थिए । उक्त दृश्य भिडियोमा कैद भएर सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरी सक्रिय भएको थियो ।

एसएसपी नवराज अधिकारीले घटनामा संलग्न शेर्पालाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको जानकारी दिए ।

सार्वजनिक यातायातमा हुने दुर्व्यवहारप्रति गम्भीर बन्न आग्रह गर्दै प्रहरीले यात्रुको सुरक्षामाथि खेलबाड गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याइने चेतावनी दिएको छ ।