काठमाडौं, वैशाख २९ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद् बैठकका क्रममा आफू निदाएको भन्ने सामाजिक सञ्जालमा फैलिएको चर्चाप्रति प्रतिक्रिया दिएका छन् । उनले आफू निदाएको नभई अत्यावश्यक सन्देश पढिरहेको बताएका हुन् ।
मंगलबार बसेको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले देखिएको दृश्य नै सधैं वास्तविकता नहुन सक्ने भन्दै सांसदहरूलाई सतर्क रहन आग्रह गरे । उनले भाइरल भिडियोबारे स्पष्टीकरण दिँदै राष्ट्रपतिको सम्बोधन भइरहेका बेला फोन खुला रूपमा हेर्न उपयुक्त नलागेकाले टेबुलमुनि राखेर म्यासेज हेरेको बताए ।
‘अर्जेन्ट म्यासेजहरू आइरहेका थिए । राष्ट्रपतिको अगाडि फोन माथि उठाएर हेर्न शोभनीय नलागेकाले तल राखेर हेरेको हुँ,’ उनले भने, ‘तर त्यसलाई लिएर अर्थमन्त्री निदायो भनेर सामाजिक सञ्जालमा धेरै चर्चा भयो ।’
उनले कुनै पनि दृश्य वा घटनालाई सतही रूपमा हेरेर तत्काल निष्कर्षमा पुग्न नहुने धारणा राखे । वाग्लेले सामाजिक सञ्जालमा फैलिने सामग्रीप्रति विवेकपूर्ण ढंगले प्रतिक्रिया दिनुपर्ने आवश्यकता पनि औंल्याए ।
